Aama Ghar

बेलायती प्रधानमन्त्री केयर स्टार्मरको चीन भ्रमण शुरु

Nepal UK

Nepal UK

Thu, 29 January 2026
बेलायती प्रधानमन्त्री केयर स्टार्मरको चीन भ्रमण शुरु

बेइजिङ । बेइजिङको 'ग्रेट हल अफ द पिपुल' मा बेलायती प्रधानमन्त्री कियर स्टार्मर र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। 

करिब १ घण्टा २० मिनेट लामो वार्तामा दुई देशबिचको सम्बन्ध सुधार र भावी रणनीतिका विषयमा गहन छलफल भयो। विगत आठ वर्षमा कुनै पनि बेलायती प्रधानमन्त्रीले चीनको भ्रमण गरेको यो पहिलो पटक हो।

भेटमा चिनियाँ राष्ट्रपति सी जिनपिङले पछिल्ला वर्षहरूमा बेलायत र चीनबिचको सम्बन्धमा आएका ‘उतारचढाव’ ले दुवै देशको हित नगरेको बताए। उनले विश्वको वर्तमान अवस्था अस्थिर रहेको भन्दै बेलायतसँग दीर्घकालीन र स्थिर रणनीतिक साझेदारी विकास गर्न चीन तयार रहेको सन्देश दिए। राष्ट्रपति सीले भने, ‘यदि हामीले मतभेदभन्दा माथि उठेर एकअर्कालाई सम्मान गर्न सक्यौँ भने हामी इतिहासको परीक्षामा खरो उत्रिने छौँ।’ 

 

सीले चिनियाँ नयाँ वर्षको नजिकै भएको स्टार्मरको यो भ्रमणलाई ‘शुभ संकेत’ को रूपमा व्याख्या गरे। उनले एक चिनियाँ उखान उद्धृत गर्दै भने, ‘लामो दूरीसम्म आफ्नो दृष्टि पुर्‍याउनुपर्छ। जबसम्म कुनै काम सही छ र त्यसले देश र जनताको मौलिक हित गर्छ भने नेताको रूपमा हामी कठिनाइबाट भाग्नु हुँदैन।’ उनले चीनसँगको सहकार्य अपरिहार्य रहेकोमा जोड दिए। 

 

यता बेलायती प्रधानमन्त्री स्टार्मरले चीनलाई ‘विश्व मञ्चको एक महत्त्वपूर्ण खेलाडी’ को संज्ञा दिँदै दुई देशबिच अझ परिष्कृत सम्बन्धको चाहना व्यक्त गरे। उनले भने, ‘बेलायती जनतालाई ध्यानमा राखेर म आज यहाँ छु। १८ महिनाअघि सरकारमा आउँदा नै मैले बेलायतलाई पुनः बाहिरी विश्वसँग जोड्ने वाचा गरेको थिएँ।’ 

उनले विदेशमा हुने घटनाले बेलायतको सुपरमार्केटको मूल्यदेखि सुरक्षासम्म असर पार्ने भएकाले चीनसँगको आर्थिक सम्बन्ध सुधारमा जोड दिए।

मानव अधिकारको चिन्ताका विषयमा सोधिएको प्रश्नमा स्टार्मरले बेइजिङ आउने क्रममा आफूले सधैं उठाउनुपर्ने विषयहरू उठाएको बताए पनि विस्तृत विवरण खुलाएनन्। उनले विश्वव्यापी स्थिरता, आर्थिक वृद्धि र जलवायु परिवर्तनका विषयमा छलफल केन्द्रित रहेको जानकारी दिए।

भेटवार्ता सकिएपछि स्टार्मर एक सांस्कृतिक कार्यक्रममा सहभागी हुने र त्यसपछि बेइजिङस्थित ऐतिहासिक ‘फर्बिडन सिटी’ को भ्रमण गर्ने कार्यक्रम रहेको छ।