Aama Ghar

बाजुराको रैथाने बाली कोदोको माग बढ्दा उत्पादन भने घट्दै

Nepal UK

Nepal UK

Sat, 04 October 2025
बाजुराको रैथाने बाली कोदोको माग बढ्दा उत्पादन भने घट्दै

बाजुरा । बाजुरामा उत्पादित अर्गानिक रैथाने बाली कोदोको माग बढेको छ । पछिल्लो समय बाजुरामा उत्पादित कोदोको माग देशका ठुला शहरमा बढ्न थालेको हो ।

यहाँका ९ वटै स्थानीय तहमा उत्पादित कोदो देशका ठुला शहर काठमाडौं, नेपालगञ्ज, धनगढी, बुटवललगायतका शहरमा बढ्दै गएको पाइन्छ । पौष्टिकता र पर्यावरणीय हिसाबले निकै महत्वपूर्ण मानिएको कोदोको माग बढेपनि उत्पादन भने घट्दै गएको छ ।

पछिल्लो समय नयाँ प्रविधिको विकाससँगै मानिसहरु आयातित बस्तुहरुमा भर पर्ने हुँदा कोदोको उत्पादन घट्दै गएको हो । मानिसहरु विलासि जीवन जिउँने भएका कारण परिश्रम गरेर काम गर्ने प्रवृत्ति हराएकोले कोदो मात्रै नभई अन्य बालीहरुको पनि उत्पादन घट्दै गएको पाईन्छ ।

बाजुराको हिमाली, जगनाथ, स्वामीकार्तिक, बुढीनन्दा, बडीमालिका, गौमुल बुढीगङ्गा, खप्तडछेडेदह र त्रिवेणी लगायतका विभिन्न ठाउँमा कोदो राम्रो उत्पादन हुने गरेको गरे पनि कोदो खेती हराउँदै गएको हो । बाजुराका विभिन्न विद्यालयमा कोदोजन्य परिकार बनाएर दिवा खाजाको रुपमा समेत प्रयोग गर्ने गरिन्छ।

कोदोको उत्पादनमा बढवा दिन बडीमालिका नगरपालिकाले प्रत्येक बर्ष मङ्सिर १ गते कोदो दिवस समेत मनाउदै आएको छ । पौष्टिकता र पर्यावरणीय हिसाबले निकै महत्वपूर्ण मानिएको कोदोको उत्पादन, बृद्धि तथा प्रवद्र्धन गर्नका निमित्त नगरपालिकाको नीति कार्यक्रम अनुसार हरेक बर्षको मंसिर १ गते कोदो दिवस सञ्चालन गर्ने गरिएको नगरपालिकाका प्रवक्ता धर्म राज पाध्यायले बताए ।

बाजुरामा पछिल्लो समय कोदो उत्पादन घट्दै गएकोले थप त्यसलाई बढुवा दिन तथा कोदो खेतीको संरक्षण तथा सम्बद्र्धन गर्न कोदो दिवस मनाउने गरिएको पाध्यायको भनाइ छ । कोदोमा कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, भिटामिन, क्याल्सियम, म्याग्नेसियम, आइरन जस्ता खनिजको प्रचुरता बढी भएकाले स्वास्थ्यका लागि उपगोगी मानिन्छ ।

 

मकैमा भन्दा ३५ गुणा र गहुँमा भन्दा ८.७३ गुणा बढी क्याल्सियम कोदोमा पाइने गरेको छ । यसैगरी चामलमा भन्दा २.३ गुणा, मकैमा भन्दा ३.७ गुणा र गहुँमा भन्दा १.५ गुणा बढी फलाम तत्व कोदोमा पाईने गरेको छ ।नेपाली जनजीवनमा “कु” अन्नको उपाधि पाएको कोदोलाई गरिबको भिटामिनको रुपमा मात्रै लिने गरेको यस अन्नलाई अहिले गरिब भन्दा पनि धनिहरुले बढि प्रयोग गर्ने गरेको पाइन्छ।

कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहानीले कोदो खेतीको लागी जिल्लाभर दुई लाख ३० हजार ३७ हेक्टर जमिन मध्ये २२ हजार हेक्टर जमीन खेती योग्य रहेको बताए । त्यसमध्ये पाँच हजार २ सय ३५ हेक्टर जमिनमा वर्षभरि सिँचाइ सुविधा उपलब्ध रहेको छ । कोदो खाद्यान्न उत्पादनको योगदान २२.६२ प्रतिशत मात्र रहेको उनको भनाई छ ।