Aama Ghar

भव्य रुपमा मनाइयो १६ औं नेपाली मेला, झन्डै १३ हजार सहभागी

Nepal UK

Nepal UK

Mon, 25 August 2025
भव्य रुपमा मनाइयो १६ औं नेपाली मेला, झन्डै १३ हजार सहभागी


लन्डन - लन्डन नजीकै केम्प्टन पार्कमा आइतबार १६ औं नेपाली मेला भव्य रुपमा मनाइएको छ।

तमु धिं युकेद्वारा आयोजित मेलामा झन्डै १३ हजार भन्दा बढी गोर्खाज तथा नेपाली समुदायका सदस्यहरु सहभागी भएको अनुमान गरिएको छ।

अहिले सम्मकै सबै भन्दा ठूलो मानिएको उक्त मेलामा ४२ ओटा सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो भने ७० ओटा विभिन्न संस्था तथा व्यवसायले आफ्नो स्टल राखेका थिए।

विगतका वर्षहरु जस्तै अत्यन्तै व्यवस्थित ढंगले आयोजित मेलाको उद्घाटन तमु धिं युकेका पदाधिकारी तथा पाहुनाहरुले मैन बत्ती बालेर संयुक्त रुपमा गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेले नेपाल बाहिर यति ठूलो संख्यामा नेपालीहरु भेला भएर उत्सव मनाएको देख्दा आफु अत्यन्तै खुसी भएको बताए। उनले भूतपूर्व गोर्खाको योगदानले गर्दा नेपाल तथा बेलायतबीचकोस सम्बन्ध अरु सुद्रिढ भएको बताए। उनले नेपाली संस्कृति र सम्पदाको जगेर्ना गर्न तमु धिं युकेले गरिरहेको प्रयासको प्रशंसा पनि गरे।

विशेष अतिथि नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले बेलायत आउँदा नेपालीहरुले आफ्नो पहिचान, संस्कृति र भाषा पनि संगै लिएर आएको र त्यो नेपालले गौरव गर्नु पर्ने विषय भएको बताए। उनले सगरमाथा, भगवान गौतम बुद्ध र गोर्खाजले नेपाललाई संसार भरि चिनाएको बताउंदै गोर्खा सैनिकहरुको माग जति सक्दो चाडो पुरा गर्न आग्रह पनि गरे। उनले "एक पटकको नेपाली सधैंको नेपाली" भन्ने मूल मर्म अनुरुप वंशजको नागरिकताको निरन्तरताको विषयमा आफ्नो पूर्ण समर्थन रहेको बताए। उनले बत्तीको उज्यालोले मात्रै नभएर नेपालको समग्र क्षेत्रमा उज्यालो लेराउन उज्यालो नेपाल अभियान सुरु गरिएको बताउंदै उक्त अभियानमा साथ र सहयोग दिन आग्रह पनि गरे।

तमु धिं युकेका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन महासचिव डा बिशाल गुरुङले गरेका थिए।