NU
Fri, 13 June 2025
लन्डन— ब्रिटिश सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकहरुको समान पेन्सन लगायतका मागहरु बारे नेपाली दूतावास लन्डनमा प्राविधिकस्तरको एक बैठक सम्पन्न भएको छ।
गोरखा भूतपूर्व सैनिकहरूको समस्याका बारेमा नेपाल र बेलायत सरकारबीच झन्डै एकवर्ष पछि वार्ता भएको हो ।
नेपाल तथा ब्रिटिश सरकारका प्रतिनिधिहरूका साथै गोर्खा भूतपूर्व सैनिक प्रतिनिधिहरूको समेत उपस्थितिमा लण्डनस्थित नेपाली दूतावासमा प्राविधिक समितिको वार्ता सम्पन्न भएकोदूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
वार्तामा नेपाली पक्षको नेतृत्व उपनियोग प्रमुख विपिन दुवाडीले गरेका थिए भने सैनिक सहचारी कर्णेल अनुप शाह पनि सरिक थिए । बेलायत सरकारका तर्फबाट जी स्मिथ, सि सिलह, कर्णेल डी रबिन्सन, ए हाइपर र जी हस्टेड सहभागी थिए ।
यसै गरी गोर्खा भूतपूर्व सैनिकहरूका तर्फबाट मेजरत्रय जुदबहादुर गुरुङ, टिकेन्द्रदल देवान र उदयबहादुर गुरुङ, सत्याग्रहीहरू ज्ञानराज राई, धन गुरुङ र पुष्पा राना घले, गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का सभापति कृष्णकुमार राई, बिजीनेसाका सभापति केशबहादुर गुरुङ र धर्मबहादुर तामाङ सहभागी थिए ।
गोर्खाहरूका तर्फबाट शुरुमा मेजर जुदबहादुर गुरुङले धारणा राख्न शुरु गरेपछि बाँकी सबै जनालाई धारणा राख्ने मौका दिइएको थियो ।
बेलायती सरकारका प्रतिनिधिहरूले वार्तामा उठाइएका विषयहरूलाई उपल्लो तहमा पुर्याई जवाफ पठाउने बताएका थिए ।
गोर्खा भूतपूर्व सैनिकहरूको गुनासोका बारेमा बेलायत र नेपालबीच केही वर्षयता सरकारस्तरमा वार्ता भइरहेको छ । पछिल्लोपटक सो वार्ता गतवर्ष जुन ११ मा भएको थियो ।