Nepal UK
काठमाडौं । भारतको गोवास्थित तटीय क्षेत्रमा रहेको एउटा रात्रिक्लबमा ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा ४ नेपालीको पनि मृत्यु भएको पुष्टि भएको छ।
उक्त आगलागीमा परी कुल २५ जनाले ज्यान गुमाएका थिए। ज्यान गुमाउनेमध्ये अधिकांश उत्तरी गोवाको अर्पाेरास्थित सोही क्लबका कर्मचारीहरू रहेका छन्।
भारतस्थित नेपाली राजदूत शंकर शर्माले आगलागीमा परेर ४ जना नेपालीहरूले पनि ज्यान गुमाएको पुष्टि गरेका छन्। गत शनिबार क्लबको भान्सामा रहेको ग्यास सिलिन्डर पड्किएर आगो फैलिंदा दुर्घटना भएको हो।
आगलागीपछि ३ जनाको जलेर मृत्यु भएको र बाँकीको भने निसास्सिएर ज्यान गएको बताइएको छ। राजदूत शर्माले नेपालमा भएका मृतकका परिवारलाई सम्पर्क गर्ने प्रयास भइरहेको जनाएका छन्।