Aama Ghar

भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध जेन जी पुस्ताको देशव्यापी प्रदर्शन

Nepal UK

Nepal UK

Mon, 08 September 2025
भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध जेन जी पुस्ताको देशव्यापी प्रदर्शन

तस्विर: नेपाल न्यूज बैंक

 

काठमाडौं । सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध र बढ्दो भ्रष्टाचारको विरोधमा जेन जी पुस्ताका युवाहरूले आज काठमाडौंको माइतीघर मण्डलामा विशाल प्रदर्शन गरेका छन्। यस अभियानलाई देशभरका पोखरा, विराटनगर, बुटवललगायतका सहरमा पनि फैलाइएको छ।

प्रदर्शनलाई मध्यनजर गर्दै माइतीघर मण्डला र संसद भवन वरपरको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपिल बोहराका अनुसार, प्रदर्शनको स्वरूप हेरेर प्रहरी परिचालन गरिने र सुरक्षा संवेदनशीलताका कारण सुरक्षाकर्मीको संख्या सार्वजनिक नगरिने बताएका छन्। भीडको अवस्थाअनुसार सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी पनि थप खटाइने योजना छ।

यो प्रदर्शन कुनै निश्चित नेतृत्वबिना नै स्वतस्फूर्त रूपमा सुरु भएको हो। युवाहरूले ‘इनफ इज इनफ’ र ‘फाइनल रिभोलुसन’ जस्ता नारा लगाउँदै, भाषणभन्दा गीत, कविता र मार्चलाई प्राथमिकता दिएका छन्। उनीहरूले ‘रोजगारी छैन, न्याय छैन, भविष्य छैन’ जस्ता सन्देश लेखिएका प्लेकार्डहरू बोकेका छन्।

जेन जीको यस आन्दोलनलाई विभिन्न राजनीतिक दलका नेताहरूले पनि समर्थन जनाएका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फेसबुकमार्फत आन्दोलनको समर्थन गर्दै यसमा राजनीतिक दलहरूलाई आफ्नो स्वार्थका लागि सहभागी नहुन आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले सामाजिक सञ्जालको प्रतिबन्धलाई ‘तानाशाही’ भनेर विरोध गरेको छ भने सोही पार्टीका सभापति रवि लामिछानेले कारागारबाटै ऐक्यबद्धता जनाएका छन्। कांग्रेस नेता डा. शेखर कोइरालाले पनि युवाहरूको आवाज सुन्न सरकारलाई चेतावनी दिएका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीले कुनै बाधा नपुर्‍याउने बताएका छन्। यसैबिच, प्रहरी उपरीक्षक बोहराले माइतीघर मण्डला क्षेत्रमा तीन हजार भन्दा बढी प्रदर्शनकारी भेला भएको अनुमान गरेका छन्।