Nepal UK
काठमाडौं - काठमाडौँस्थित द ब्रिटिश कलेजले सामाजिक सञ्जाल तथा अन्य आम सञ्चार माध्यममार्फत कलेजविरुद्ध भ्रामक सूचना फैलाइएको बताउंदै त्यस्ता आरोपहरुको खण्डन गरेको छ।
कलेजले सम्बन्धित नियामक निकायको स्वीकृतिमा उच्च शिक्षा प्रदान गर्दै आएको जनाउंदै अन्तरराष्ट्रिय रूपमा मान्यता प्राप्त विश्वविद्यालयहरूसँगको औपचारिक अनुबन्धमा विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ। साथै, कलेजले नेपालका सम्बन्धित नियामक तथा संस्थागत मापदण्डअनुसार अवलम्बन गर्नुपर्ने सम्पूर्ण मापदण्डहरू पूर्ण रूपमा पालना गर्दै आएको पनि स्पष्ट पारेको छ ।
दुबईस्थित द वुलविच इन्स्टिच्युट युएइको नियामक निकायको स्वीकृति तथा मान्यतामा सञ्चालनमा रहेको एक स्वतन्त्र शैक्षिक संस्था भएको बताउंदै उक्त संस्थाले हाल २५ भन्दा बढी देशका ३०० भन्दा बढी विद्यार्थीहरूलाई शैक्षिक सेवा प्रदान गर्दै आएको विज्ञप्तिमा उल्लेख छ।
कार्यक्रम संरचना तथा शैक्षिक प्रगति
द ब्रिटिश कलेजमा सञ्चालन हुने फाउन्डेशन कार्यक्रमहरू अन्तरराष्ट्रिय रूपमा मान्यता प्राप्त शैक्षिक कार्यक्रम हुन् । यस कलेजले विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनका लागि आवश्यक शैक्षिक तथा व्यावसायिक दक्षता प्रवर्द्धन गर्न मद्दत गर्दछ । यस्ता कार्यक्रमहरू अन्तरराष्ट्रिय रुपमा मान्यता प्राप्त छन् ।
स्वीकृत शैक्षिक कार्यक्रम अर्न्तगत हस्पिटालिटी म्यानेजमेन्ट फाउन्डेशन लेभेल अध्ययनरत विद्यार्थीहरूलाई द वुलविच इन्स्टिच्युट हाइएर न्याशनल डिप्लोमा कार्यक्रम अर्न्तगत विद्यार्थीको सैद्धान्तिक ज्ञान एवं सिप विकास अभिवृद्धि लागि अवसर प्रदान गरिने कलेजले जनाएको छ ।
हाइएर न्याशनल डिप्लोमा सफलतापूर्वक पूरा गरेपछि विद्यार्थीहरूले शैक्षिक प्रदर्शन, संस्थागत मापदण्ड तथा भिसा नियमअनुसार लेभल ६ (टप अप ब्याचलर्स डिग्री) दुबई, बेलायत वा अष्ट्रेलियास्थित साझेदार विश्वविद्यालयहरू वा शिक्षण संस्थामा अध्ययन गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
विद्यार्थीहरूको व्यावसायिक सीप विकासको लागि इन्टर्नसिपको अवसर प्रदान गरिने तर इन्टर्नशिपको ग्यारेन्टी नहुने र सो कुरा विद्यार्थीहरूलाई भर्ना पूर्व नै स्पष्ट रूपमा जानकारी गराइने गरिएको विज्ञप्तिमा उल्लेख छ ।
"दुबई जाने विद्यार्थीहरूलाई प्रारम्भिक आगमन र बसोबास सहज बनाउन तेस्रो पक्ष सेवा प्रदायक मार्फत अस्थायी आवासको व्यवस्था हुन्छ । यी व्यवस्था छोटो अवधिका लागि मात्र हुने कुरा स्पष्ट रूपमा जानकारी गराइएको तथा सम्झौतामा उल्लेख गरिएको थियो । उक्त प्रारम्भिक अवधिपछि विद्यार्थीहरूले आफ्नो दीर्घकालीन आवासको व्यवस्था आफैं गर्नुपर्ने हुन्छ, जुन अन्तरराष्ट्रिय अध्ययन तथा आवागमनका सामान्य अभ्यासअनुसार हो । कुनै पनि अवस्थामा विद्यार्थीहरूलाई बेवास्ता गरिएको, बेघर बनाइएको वा अलपत्र पारिएको छैन । यसबारे गरिएका सबै दाबीहरू पूर्ण रूपमा झुटो, असत्य, भ्रामक र तथ्यहीन हुन्," कलेजले भनेको छ ।
"हस्पिटालिटी म्यानेजमेन्टका करिब ५१ जना विद्यार्थीहरू मध्ये ९ जना विद्यार्थीहरू व्यक्तिगत असन्तुष्टिका कारण करिब तीन महिनापछि नेपाल फर्किएका हुन्। उक्त विद्यार्थीहरूलाई इन्टर्नशिपको अवसर प्रदान गरिएको थियो, जसको सुरुवात डिसेम्बर १, २०२५ बाट हुने तय गरिएको थियो। विद्यार्थीहरू नेपाल फर्किएपछि कलेजले विद्यार्थी तथा अभिभावकहरूसँग तुरुन्तै औपचारिक परामर्श प्रक्रिया सुरु गरेको थियो। छलफलहरू पारदर्शी, सम्मानजनक र रचनात्मक वातावरणमा सम्पन्न गरिएका थिए। समस्या सकारात्मक संवादमार्फत समाधानको दिशातर्फ अघि बढिरहेको अवस्था थियो," कलेजले भनेको छ।
गत मंसिर २३ गते हस्पिटालिटी म्यानेजमेन्टका केही विद्यार्थीहरूले कलेजको पूर्व अनुमति र स्वीकृति बिना प्रत्यक्ष छलफलको क्रममा सामाजिक सञ्जालमा सामग्री प्रसारण गरे। त्यस्तै पौष ७ मा अभिभावकहरूसँग समाधानमुखी छलफल भइसकेको अवस्थामा पनि बाह्य संस्थासँग सम्बन्धित केही व्यक्तिहरूले विद्यार्थीको समर्थनको नाममा परिस्थिति अशान्त बनाउने प्रयास गरेका थिए। यस क्रममा भ्रामक पर्चाबाजी, उक्साउने गतिविधि, तथा कर्मचारीहरू विरुद्ध आधारहीन आरोप लगाइएको थियो। केही कर्मचारीहरूलाई दुर्व्यवहारसमेत गरियो, कलेजले भनेको छ।
यही पौष ८ मा समस्या समाधानका प्रयास जारी रहँदा पनि, हाल कलेजमा भर्ना नभएका व्यक्ति तथा विद्यार्थी सङ्घको नाम प्रयोग गर्दै आएका बाह्य समूहका केही व्यक्तिहरूले अनधिकृत र भ्रामक भिडियोहरू सार्वजनिक गरेका थिए। साथै, सामाजिक सञ्जालमार्फत अपुष्ट तथा दोषपूर्ण आरोपहरू फैलाउने, कलेजको कार्यालयमा तोडफोड गर्ने, तथा शैक्षिक गतिविधि अवरुद्ध गर्ने कार्यहरू गरिएको अवस्था थियो। कलेजले सम्बन्धित विद्यार्थीहरूसँग संवाद गर्न धेरै पटक औपचारिक प्रयास गरेको थियो। विद्यार्थीहरूलाई कलेजका आधिकारिक प्रतिनिधि, सञ्चालक तथा स्थानीय प्रहरी प्रशासनको उपस्थितिमा तीन पटकभन्दा बढी औपचारिक बैठकमा सहभागी हुन आमन्त्रण गरिएको थियो। यति धेरै अवसर प्रदान गरिँदा पनि, विद्यार्थीहरूले बैठकमा उपस्थित भई संवाद गर्न अस्वीकार गर्दै अनधिकृत गतिविधिमा संलग्न हुने बाटो रोजेको देखियो। यस अवस्थाले कलेजका विद्यार्थी तथा कर्मचारीहरूमा असहज परिस्थिति सिर्जना गरेको छ।
कलेजको सुरक्षा तथा शैक्षिक वातावरण सुरक्षित र नियमित रूपमा सञ्चालन गर्न सुरक्षा निकायको सहयोग लिनुपर्ने अवस्था सिर्जना भएको छ, कलेजले भनेको छ।
शोषण वा मानव तस्करी सम्बन्धी आरोप
"द ब्रिटिश कलेजमाथि लगाइएका शोषण वा मानव तस्करीसम्बन्धी सबै आरोपहरूलाई कलेज पूर्ण रूपमा अस्वीकार गर्दछ। यस्ता आरोपहरू पूर्णतः असत्य, आधारहीन र मानहानीपूर्ण रहेका छन्। शिक्षण संस्था जस्तो प्रतिष्ठित र जिम्मेवार संस्थामाथि यस्ता भ्रामक र अपुष्ट आरोप लगाइनु निन्दनीय कार्य हो। कलेज आफ्नो शैक्षिक, कानूनी तथा नैतिक मापदण्डप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट गर्दछ," विज्ञप्तिमा भनिएको छ।
"विद्यार्थीको हित, सुरक्षा, मर्यादा र समग्र विकास द ब्रिटिश कलेजको प्रमुख तथा अपरिहार्य प्राथमिकता हो। कलेजले सबै विद्यार्थीहरूलाई सुरक्षित, सम्मानजनक र सहयोगी शैक्षिक वातावरण प्रदान गर्न निरन्तर प्रतिबद्धता व्यक्त गर्दछ। कुनै पनि अवस्थामा विद्यार्थीमा मानसिक, शैक्षिक, व्यवहारिक वा व्यक्तिगत समस्या देखा परेमा, कलेजले सम्बन्धित विद्यार्थीको गोपनीयता, आत्मसम्मान र कानूनी अधिकारलाई पूर्ण सम्मान गर्दै आवश्यक सहयोग उपलब्ध गराउने गर्दछ। यस्ता सहयोगहरू परामर्श, मार्गदर्शन तथा संस्थागत सहायताका माध्यमबाट प्रदान गरिन्छ," कलेजले भनेको छ।
द ब्रिटिश कलेजले आफ्ना सम्पूर्ण शैक्षिक कार्यक्रमहरू नियमित तथा निर्धारित तालिकाअनुसार सञ्चालन भइरहेको पनि कलेजले जनाएको छ। "हाल कलेज पूर्ण रूपमा सञ्चालनमा रहेको र शैक्षिक गतिविधिमा कुनै अवरोध नरहेको जानकारी गराइन्छ। कलेज गुणस्तरीय शिक्षा प्रदान गर्न तथा विद्यार्थीलाई रचनात्मक र जिम्मेवार सहयोग गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको पुनः स्पष्ट गर्दछ," कलेजले विज्ञप्तिमा भनेको छ।