Aama Ghar

भेगनहरुको दर कार्यक्रम : सबैलाई शुद्ध शाकाहारी बन्न आह्वान

Nepal UK

Nepal UK

Mon, 25 August 2025
भेगनहरुको दर कार्यक्रम : सबैलाई शुद्ध शाकाहारी बन्न आह्वान

 

काठमाडौं । नेपाललगायत विश्वभर मासुमंश वा तामासिक खानपानमा रमाउनेहरुको संख्या ठूलो छ । त्यस्तै अर्काथरी मानिसहरु पनि छन् जो सीमित र सन्तुलिन खानेकुरा खान्छन् र त्यसैमा रमाउने गर्छन् । उनीहरु शाकाहारी भोजनमा अभ्यस्त हुन चाहन्छन् ।

शुद्ध शाकाहारीहरुले सेवन गर्ने खानेकुरालाई भेगन डाइट भनिन्छ । अहिले विश्वभर यस किसिमको खानेकुरा खानेहरुको संख्या बढ्दो छ । यसले शरीरलाई मात्र होइन, भावनालाई पनि शुद्ध बनाउँछ भन्ने मान्यता छ ।

केही समयदेखि नेपालमा पनि भेगन बन्ने नयाँ अभ्यासको विकास भइरहेको छ । उनीहरुले मासुजन्य परिकार मात्र होइन् दुधजन्य परिकार समेत खाँदैनन् । मासुजन्य र दुधजन्य खानेकुरा शरीरमैत्री नभएको भेगनहरुको तर्क छ । अहिले भेगन डाइटका लागि छुटै रेष्टुरेन्टसमेत सञ्चालन भएका छन् ।

तीज नजिकिँदै गर्दा दर खान भेगनहरु पनि व्यस्त छन् । सोही क्रममा काठमाडौंको ठमेलस्थित पहिलो नेपाली भेगन लभिङ हार्ट रेष्टुरेन्टमा पनि तीज विशेष दर कार्यक्रम राखिएको थियो ।

कार्यक्रममा उपस्थित भेगनहरु कुनै पनि चाडपर्व, माछा, मासु, दही दुध, घिउको प्रयोगविना खल्लो हुन्छ भन्ने भाष्यलाई आफूहरुले चिरेको बताउँछन् ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा १२ वर्ष  लभिङ हार्ट रेष्टुरेन्ट सञ्चालन गरिरहेकी सञ्चालक सामु योञ्जनले एक छाकमा एउटा प्राणीको हत्या हुने भएकाले आफूले रेष्टुरेन्टमार्फत एक छाक खुवाउँदा एउटा प्राणीको हत्या हुनबाट जोगिन्छ भन्ने उद्देश्यले रेष्टुरेन्ट खोलेको जानकारी दिइन् ।

पहिला रेष्टुरेन्टमा आउनेहरुले भेगनबारे बुझेका हुँदैनन् । जसका कारण विभिन्न किसिमका टिकाटिप्पणी गर्ने गरेको बताउँदै पछिल्लो समय भेगनबारे धेरैजसो जानकार भएको बताइन् ।

उनले भनिन्,‘आगामी पुस्तालाई अहिंसाको बाटोमा हामीले नै लैजानुपर्छ । ११–१२ वर्ष भयो यो रेष्टुरेन्ट खोलेको । यो नेपालको पहिलो भेगन रेष्टुरेन्ट पनि हो । एक छाकमा एउटा प्राणीको हत्या हुन्छ । मैंले एक छाक खाना एउटा व्यक्तिलाई यहाँ खुवाउँदा एउटा प्राणीको हत्या हुनबाट जोगिन्छ । त्यो उद्देश्यले खोलेको पनि हो । पहिला मैले रेष्टुरेष्ट खोल्ने बेलामा धेरै थिएन । तर अहिले धेरै मानिसलाई थाहा भयो । भेगन के हो र किन हुनुपर्छ भन्ने बुझेको छन् जस्तो लाग्छ ।’

त्यस्तै उनले दरमा नरिवलको दुधबाट खिर, भट्मासको दुधबाट दही, बदामको दहीबाट पनिर बनाइएको बताइन् । हिंसारहित माछा र मासु पनि पाउने बताउँदै उनले हिंसाबाट टाढा रहनुपर्ने धारणा राखिन् ।

यस्तै,दर कार्यक्रममा सहभागी कलाकार सरिता राजोपाध्यायले भेगनले मानिसको मनमा सकारात्मक उथलपुथल ल्याउने बताइन् । मानिस सबैभन्दा उत्कृष्ट रचना भएका कारणपनि करुणा र दयाले भेगन हुनुपर्ने उनको भनाइ छ ।

उनले भनिन्,‘भेगन त्यो हुन्छ जसले बुझ्छ । जब बुझ्छ तब एउटा सच्चा मान्छे छ भने उसको मनमा उथलपुथल नै ल्याउँछ । माछा मासु नखाइ चाडपर्व हुँदैन् । यो एकदमै मिठो खानेकुरा हो जसले भन्नुहुन्छ, उहाँहरुलाई देखेर दया लाग्छ । कसैको शरीरमा खानु भनेको राम्रो कुरा होइन् । त्यो शरीर भनेको मेरो पनि हो, मेरो परिवारको पनि हो । तर उसको शरीर चाँही किन खाने, उत्कृष्ट रचना मानव तर खोइ त करुणा खोइ दया ? जसले भाकल गरेर बली दिने गर्छन् । उहाँहरुको पाप चाँही कसरी कट्छ भनेर डर लाग्छ ।’

यस्तै अर्की भेगन सरिता श्रेष्ठले मासुसाथै डेरी प्रडक्टहरु खाने भनेको गौहत्यामा संलग्न हुनु भएको बताइन् ।

‘भेगन भनेको आफू बाँच्नको लागि कुनैपनि जनावरहरुलाई प्रयोग नगर्ने हो । बाँच्नको लागि अरुमाथि किन हिंसा गरौं । अहिले हामीले मासुको मात्र कुरा नगरौं । डेरी प्रडक्टहरु र दुधहरु खाने गर्ने भनेको त गौहत्यामा संलग्न हुनु जस्तो लाग्छ । त्यसैले म चाँही त्यसमा संलग्न हुन सक्दिन भन्ने सोचेर भेगन भएको हुँ,’उनले भनिन् ।

शुद्ध र निराहार ब्रत बस्नुपर्नेमा अघिल्लो दिनमा मासु खाएर भोलिपल्ट ब्रत बस्नाले फलिफाप नहुने उनको बुझाइ छ ।

उनले भनिन्,‘तीजको ब्रत एकदमै शुद्ध हुनुपर्ने हो जस्तो लाग्छ । निराहार ब्रत त अहिले पनि बस्छन् । तर अघिल्लो दिन मासु खाएर बस्छन् । त्यो त आफ्नो चेतनाले पनि सोच्नुपर्ने कुरा हो । कुनै नराम्रो काम गरेर अनि पुण्यको काम गर्दै छ भने त्यो फलिफाप पनि हुँदैन् । त्यसैले सँधैभरी हामी शुद्ध शाकाहारी हौं ।’

त्यसैगरी दिपेश श्रेष्ठ भेगन कुनैपनि प्रोडक्टको लागि जनावरलाई शोषण गरेको छ भने पैसा हालेर म सपोर्ट गर्दिन भन्ने फिलोसफी रहेको दाबी गर्छन् । ‘भेगन डाइट भन्दा पनि यो फिलोसफी हो । यसमा कुनैपनि प्राणीको शोषण नगरी आफ्नो जीवन विताउनुपर्छ भन्ने हो । यसमा कुनैपनि प्रडक्टको लागि जनावरलाई शोषण गरेको छ भने पैसा हालेर म सपोर्ट गर्दिन गर्ने फिलोसफी पनि हो यो,’उनले भने । पर्वहरुमा रमाइलोका लागि कुनैपनि पशुको हत्या गर्न नमिल्ने उनको बुझाइ छ ।