Aama Ghar

अर्थतन्त्र लयमा रहेको संकेत, विदेशी मुद्रा सञ्चिति ३० खर्ब नाघ्यो

Nepal UK

Nepal UK

Mon, 15 December 2025
अर्थतन्त्र लयमा रहेको संकेत, विदेशी मुद्रा सञ्चिति ३० खर्ब नाघ्यो

काठमाडौँ । नेपालमा विदेशी मुद्रा सञ्चिति साढे ३० खर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति १४.१ प्रतिशतले वृद्धि भई ३० खर्ब ५५ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति १०.३ प्रतिशतले बढेर २१ अर्ब ५२ करोड पुगेको छ। २०८२ असार मसान्तसम्ममा विदेशी मुद्रा सञ्चिति १९ अर्ब ५० करोड अमेरिकी डलर बराबर रहेको थियो।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकसँग २७ खर्ब २४ अर्ब ६६ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थासँग ३ खर्ब ३० अर्ब ८५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा रहेको छ। गत असार मसान्तसम्म राष्ट्र बैंकसँग २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थासँग २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ विदेशी मुद्रा सञ्चिति थियो। समीक्षा अवधिमा राष्ट्र बैंकमा रहेको सञ्चिति १२.८ प्रतिशत र बैंक तथा वित्तीय संस्थामा रहेको सञ्चिति २५.८ प्रतिशतले वृद्धि भएको हो।

राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ।

आर्थिक वर्ष २०८२/८३ को चौथो महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २०.८ महिनाको वस्तु आयात र १७.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

२०८२ कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल ग्राहस्थ उत्पादनसँगको अनुपात ५०.० प्रतिशत, कुल आयातसँग १४४.९ प्रतिशत र विस्तृत मुद्राप्रदायसँग ३७.८ प्रतिशत रहेको छ। २०८२ असार मसान्तमा यी अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए।