नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश, आइतबार सिंगापुरसँग उपाधि भिडन्त

NU

NU

Thu, 03 July 2025

काठमाडौं – मलेसियामा जारी एसीसी यू–१६ इस्ट जोन कपमा नेपाल फाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको सेमिफाइनलमा आयोजक मलेसियालाई ९ विकेटले हराउँदै नेपालले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो। 

नेपालको उपाधि भिडन्त आइतबार सिंगापुरसँग हुनेछ, जसले अर्को सेमिफाइनलमा हङकङलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ। नेपाल प्रतियोगितामा अहिलेसम्म अपराजित रहँदै फाइनलमा पुगेको हो।

बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले घरेलु टोली मलेसियामाथि ९ विकेटको सानदार जित निकाल्यो। मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमा मात्र १ विकेट गुमाउँदै पूरा गर्यो। नेपालका लागि ओपनर परिमार्जन यादवले अविजित ५९ रनको शानदार अर्धशतकीय इनिङ खेले। उनले ३५ बलको सामना गर्दै ५ चौका र ५ छक्का प्रहार गरे। तेस्रो नम्बरमा आएका शिवांश बजगाईंले अविजित २३ रन बनाए।

टस हारेर पहिले ब्याटिङ गरेको मलेसिया ४३.१ ओभरमा ९० रनमै अलआउट भएको थियो। मलेसियाका लागि मुहम्मद दानिस अदलेयनले सर्वाधिक ३८ रन बनाए भने दीज पात्रोले १० रन जोडे। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालको बलिङमा अभय यादवले उत्कृष्ट प्रदर्शन गर्दै १० ओभरमा १५ रन खर्चेर सर्वाधिक चार विकेट लिए। यस्तै शुभम खनालले १० ओभरमा १२ रन खर्चेर ३ विकेट लिए। कप्तान विपिनप्रसाद शर्मा र सचिन भट्टले पनि एक/एक विकेट लिए।

नेपाल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो भने मलेसिया समूह ‘बी’बाट उपविजेता बनेको थियो। फाइनलमा नेपालसँग भिड्ने सिंगापुर भने समूह चरणमा नेपालसँगै पराजित भएको थियो। बिहीबार हङकङले दिएको १६९ रनको लक्ष्य सिंगापुरले ३८.५ ओभरमा ६ विकेटको क्षतिमा नै भेट्टाएर फाइनलमा स्थान बनाएको हो।