Aama Ghar

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

Nepal UK

Nepal UK

Tue, 20 January 2026
अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

काठमाडौँ, निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका चार मन्त्री आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका छन । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मन्त्री पदबाट राजीनामा दिएर उनीहरु उम्मेदवार बनेका हुन।

हालसम्म प्राप्त जानकारीअनुसार अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन निर्वाचनमा उम्मेदवार बन्दै छन ।

यसअघि उनीहरुले वर्तमान सरकारको स्वतन्त्र पहिचानमा आँच आउन नदिन दलीय राजनीतिको मैदानमा छिर्नु अघि पदबाट राजीनामा दिने घोषणा गरेका थिए।

मन्त्री पदबाट राजीनामा दिएपछि ऊर्जामन्त्री घिसिङले आफ्नै नेतृत्वमा उज्यालो नेपाल पार्टी गठन गरेका छन । उनी त्यसअघि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक थिए । घिसिङ काठमाडौ निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार बनेका छन ।

युवा तथा खेलकुदमन्त्री गुप्ता जेनजी आन्दोलनका अगुवा तथा सामाजिक अभियन्ताका रुपमा परिचित छन । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सिरहा निर्वाचन क्षेत्र नं १ बाट आफूले उम्मेदवारी दिन लागेको गुप्ताले बताए ।

पूर्वसञ्चारमन्त्री खरेल दुई दशक बढी समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुन । मन्त्री बन्नुअघि उनले इमेज टेलिभिजनको सम्पादकीय नेतृत्व सम्हालेका थिए । खरेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी अर्यालले आजै पार्टी आबद्धताको प्रतीक चिह्न प्रदान गर्नुभएको छ । उहाँले अपराह्न ३ बजे ललितपुर निर्वाचन क्षेत्र नं २ को निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।

यस्तै पूर्वशिक्षामन्त्री तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं वैज्ञानिक पुनले भने आजै म्याग्दी निर्वाचन क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिसकेका छन। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ आज मुलुकभरका १६५ वटै निर्वाचन क्षेत्रमै उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।