Nepal UK
लन्डन - लन्डनस्थित नेपाली दूतावासले बेलायतको अल्डरशटमा नेपाली नागरिकहरूका लागि घुम्ती कन्सुलर सेवा सञ्चालन गर्ने भएको छ।
दूतावासका अनुसार उक्त सेवा १७ जनवरी २०२६, शनिबारका दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म अल्डरशटस्थित Shiva Cultural and Community Centre, Queens Road मा उपलब्ध हुनेछ। विशेषगरी ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई सहज रूपमा कन्सुलर सेवा प्रदान गर्ने उद्देश्यले मोबाइल सेवा शिविर आयोजना गर्न लागिएको दूतावासले जनाएको छ।
उक्त अवसरमा पासपोर्ट नवीकरण, पावर अफ अटर्नी, कागजात प्रमाणीकरण, एकतर्फी यात्रा अनुमति पत्र, गैरआवासीय नेपाली (एनआरएन) परिचयपत्र तथा पर्यटक भिसा सम्बन्धी सेवाहरू प्रदान गरिनेछन्। बेलायतमा बसोबास गर्दै आएका सबै नेपाली नागरिक तथा नेपाली मूलका व्यक्तिहरूले यस सेवाबाट लाभ लिन सक्ने दूतावासले स्पष्ट गरेको छ।
दूतावासका अनुसार सेवा शुल्क भने बैंक कार्डमार्फत मात्र भुक्तानी गर्नुपर्नेछ र नगद भुक्तानी स्वीकार गरिने छैन। सेवासम्बन्धी थप जानकारीका लागि इच्छुक व्यक्तिहरूले दूतावासको आधिकारिक वेबसाइट uk.nepalembassy.gov.np मार्फत जानकारी लिन सक्नेछन् भने consular@nepembassy.org.uk इमेल ठेगानामा सम्पर्क गर्न सक्नेछन्। साथै, +44 7404 939274 नम्बरमा फोन गरेर पनि आवश्यक जानकारी लिन सकिने बताइएको छ।
नेपाली दूतावासले यो मोबाइल कन्सुलर सेवा शिविर Shiva Cultural and Community Centre तथा सम्बन्धित संस्थाहरूको सहयोगमा आयोजना गर्न लागिएको जनाएको छ। दूतावासले बेलायतका विभिन्न सहरमा रहेका नेपाली समुदायलाई उक्त सेवाको सदुपयोग गर्न आग्रह गरेको छ।