Aama Ghar

अल्डरसटमा नेपाली  दूतावासले आयोजना गर्यो कन्सुलर घुम्ती शिविर

Nepal UK

Nepal UK

Mon, 19 January 2026
अल्डरसटमा नेपाली  दूतावासले आयोजना गर्यो कन्सुलर घुम्ती शिविर

लन्डन । लन्डनस्थित नेपाली राजदूतावासले नेपालीहरुको बाहुल्य रहेको अल्डरसट शहरमा राहदानी तथा कन्सुलर घुम्ती शिविर आयोजना गरेको छ ।

विशेष गरी ज्येष्ठ नागरिक र अशक्त व्यक्तिहरूलाई लक्षित गर्दै १७ जनवरी (शनिबार) एकदिने शिविर आयोजना गरिएको हो ।

अल्डरसटस्थित शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर प्रांगणमा सञ्चालित शिविरबाट भूतपूर्व गोर्खा परिवार सहित एकसय भन्दा बढी नेपाली लाभान्वित भएका दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडीले जनाए ।

शिविरमा विद्युतीय राहदानी नवीकरण, अधिकृत वारेसनामा, कागजात प्रमाणीकरण, पर्यटक भिसा, एकतर्फी यात्रा अनुमतिपत्र र गैरआवासीय नेपाली परिचय पत्र (एनआरएन आइडी) सम्बन्धी सेवा उपलब्ध गराइएको थियो ।

नेपालीहरु उल्लेख्य रहेको संयुक्त अधिराज्य (यूके) का चारवटै राज्यस्थित विभिन्न शहरमा यस खालका शिविर नियमित सञ्चालन भइरहेको दुवाडीले बताए । टाढा यात्रा गर्न असमर्थ नेपालीका लागि यस्ता शिविर बढी प्रभावकारी बनेको उनको भनाइ छ ।

अल्डरसटमा शिविर सञ्चालनका लागि स्थानीय ग्रेटर रसमोर नेपाली कम्युनिटी र शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरका प्रतिनिधिहरुले समन्वय र सहयोग गरेका थिए ।

शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरका अध्यक्ष हरि भट्टराईले घुम्ती शिविरबाट अरुको सहारामा दूतावाससम्म जानुपर्ने वृद्धवृद्धाका लागि समय र पैसा बचत भएको बताए ।

‘हाम्रो समुदायमै आएर दूतावासले निकै राम्रो सेवा गरेकामा हामी कृतज्ञ छौं’, भट्टराईले भने, ‘अब दूतावाससंग सहकार्य गरि प्रत्येक ६ महिना वा वर्ष दिनमा नियमित शिविर गर्ने सोच बनाएका छौं ।’