Nepal UK
लन्डन । नेपाली कराते खेलकी अन्तर्राष्ट्रिय स्टार एरिका गुरूंग ले टर्कीमा हालै सम्पन्न Karate Premier League प्रतियोगितामा ऐतिहासिक रजत पदक (Silver Medal) जित्दै नेपालका लागि गौरवपूर्ण सफलता हासिल गरेकी छन्। उक्त उपलब्धिपछि वेलायतमा आयोजना हुने International Training Programme मा सहभागी हुन एरिका गुरूंग वेलायत आइपुगेकी छन्।
वेलायत आगमनको अवसरमा तमु धीं यूके ले एरिका गुरूंगसहित राष्ट्रिय कराते प्रशिक्षक कुशल श्रेष्ठ तथा अन्तर्राष्ट्रिय रेफ्री तारा गुरूंग लाई औपचारिक रूपमा स्वागत गरेको छ। कार्यक्रममा तमु धीं यूकेका पदाधिकारीको उपस्थिति रहेको थियो।
तमु धीं यूकेले एरिका गुरूंगको निरन्तर अन्तर्राष्ट्रिय सफलताले नेपाली कराते खेललाई विश्व मञ्चमा चिनाएको उल्लेख गर्दै उनको मेहनत, अनुशासन र समर्पण युवा खेलाडीहरूका लागि प्रेरणाको स्रोत बनेको जनाएको छ। संस्थाले भविष्यमा समेत यस्ता प्रतिभाशाली खेलाडीहरूलाई आवश्यक सहयोग, सम्मान र प्रोत्साहन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।
उल्लेखनीय छ, एरिका गुरूंगलाई तमु धीं यूकेले सन् २०२४ मा आयोजना गरेको विशेष कार्यक्रममा “तमु प्रतिभा पुरस्कार” बाट सम्मानित गरेको थियो। पछिल्लो रजत पदक जितसँगै गुरूंगले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उत्कृष्टता पुनः प्रमाणित गरेकी छन्, जसलाई नेपाली खेलकुद क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ।