Aakash Chaudhary
लण्डन, बेलायत – बेलायतमा रहेका नेपाली समुदायका लागि एक महत्त्वपूर्ण आध्यात्मिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ। हिन्दु धर्मकी एक सशक्त संरक्षक र प्रवर्द्धकका रूपमा सम्मानित, सुप्रसिद्ध भागवत वाचिका एवं भागवत मञ्जरी आदरणीय राधिका दाशी माता आगामी अगस्ट १ देखि ७ तारिखसम्म बेलायतको आध्यात्मिक भ्रमणमा रहनुहुनेछ। उहाँको यस विशेष उपस्थितिमा भागवत कथा तथा सत्सङ्गका अमृतमय वचनहरू श्रवण गर्ने दुर्लभ सौभाग्य बेलायतवासीले प्राप्त गर्नेछन्।
समुदायको उन्नति र धर्म संस्कृतिको संरक्षणका लागि निरन्तर कार्यरत हाम्रा आदरणीय संरक्षक तथा प्रायोजकहरूको विशेष पहलमा यो भव्य कार्यक्रम सम्भव भएको हो। विशेषगरी, चितवन एड ट्रस्ट यूके का अध्यक्ष राजू आचार्यको नेतृत्वले यस कार्यक्रमलाई मूर्त रूप दिन महत्त्वपूर्ण भूमिका खेलेको छ। उहाँहरूको निःस्वार्थ सहयोग र समर्पणले गर्दा नै विदेशी भूमिमा यस्तो महत्त्वपूर्ण आध्यात्मिक अनुष्ठान आयोजना हुन सकेको छ।
माता राधिका दाशीको पहिलो आध्यात्मिक कार्यक्रम आगामी अगस्ट २, शनिवारका दिन लण्डनको प्लमस्टेडस्थित पशुपतिनाथ मन्दिरमा आयोजना हुँदैछ। यस कार्यक्रममा सबै भक्तजनहरूलाई हार्दिक उपस्थितिका लागि अनुरोध गरिएको छ।
उहाँका अन्य महत्त्वपूर्ण कार्यक्रमहरू ह्यामशायरको एल्डरशट र मिडल्यान्ड्सको बर्मिङ्घममा पनि तय भएका छन्। यी स्थानहरूमा पनि माता राधिका दाशीका प्रवचन तथा सत्सङ्ग कार्यक्रमहरू आयोजना हुनेछन्, जसको विस्तृत तालिका चाँडै सार्वजनिक गरिनेछ।
आध्यात्मिक ऊर्जा र सकारात्मक सन्देश प्रवाह गर्दै आउनुभएकी माता राधिका दाशीका प्रवचनहरूले जीवनमा शान्ति, सद्भाव र धार्मिक चेतना भर्ने विश्वास गरिन्छ। यो अवसर बेलायतमा बसोबास गर्ने नेपाली तथा हिन्दु धर्मावलम्बीहरूका लागि ठूलो धार्मिक र सांस्कृतिक महत्त्वको रूपमा हेरिएको छ।
आयोजकहरूले यस पवित्र कार्यक्रममा सपरिवार सहभागी भई माताको आशीर्वचन ग्रहण गर्नका लागि बेलायतका सम्पूर्ण धर्मप्रेमी महानुभावहरूलाई हार्दिक अनुरोध गरेका छन्। राधे राधे!
थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:
राजू आचार्य: ०७७११६४५८१७
गोविन्द सापकोटा: +४४७३४०२४८९३९
हेमन्त सेडाई: ०७७२९७०३०६५