Aama Ghar

अब विदेशी लगानी ल्याउन र बाहिर लैजान केन्द्रीय बैंकको अनुमति नचाहिने

Nepal UK

Nepal UK

Tue, 30 December 2025
अब विदेशी लगानी ल्याउन र बाहिर लैजान केन्द्रीय बैंकको अनुमति नचाहिने

काठमाडौं – अब सबै प्रकारको विदेशी लगानी मुलुक भित्र्याउन नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति नचाहिने भएको छ। राष्ट्र बैंकले राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ (पाँचौं संशोधन) मार्फत कम्पनीहरूले विदेशी लगानी नेपाल भित्र्याउन र बाहिर लैजान केन्द्रीय बैंकको अनुमति नचाहिने व्यवस्था गरेको हो।

नयाँ संशोधनले शेयर स्वामित्व परिवर्तनमा विदेशी लगानी भित्र्याउन वा पठाउन राष्ट्र बैंकको पूर्वस्वीकृति आवश्यक पर्ने पुरानो व्यवस्था खारेज गरेको छ। साथै, विदेशी लगानीकर्ताले आर्जन गरेको रकम फिर्ता लैजान इजाजतप्राप्त वाणिज्य बैंकबाटै सोझै विदेशी मुद्राको सटही सुविधा पाउने व्यवस्था गरेको छ।

नेपालमा विदेशी लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यले लगानी तथा आर्जित रकम फिर्ता लैजाने प्रक्रिया थप सरलीकृत गरिएको राष्ट्र बैंकको भनाइ छ।

यस व्यवस्था अनुसार विदेशी लगानीकर्ताले शेयर बिक्रीबाट प्राप्त रकम, लगानीबाट आर्जित मुनाफा वा लाभांश, उद्योग वा कम्पनी खारेजी पछि बाँकी रहेको रकम, प्रविधि हस्तान्तरण सम्झौतामा प्राप्त रोयल्टी, लिज भाडा, कानुनी प्रक्रियाबाट प्राप्त हर्जना वा क्षतिपूर्ति, विशेष लगानी कोषको इकाई बिक्रीबाट प्राप्त रकम र अन्य कानुनी रूपमा फिर्ता लैजान पाउने रकम फिर्ता लैजान सक्नेछन्।