Aama Ghar

आज विश्व मधुमेह दिवसः विभिन्न कार्यक्रमको आयोजनागरी मनाइँदै

Nepal UK

Nepal UK

Fri, 14 November 2025
आज विश्व मधुमेह दिवसः विभिन्न कार्यक्रमको आयोजनागरी मनाइँदै

काठमाडौं । आज विश्व मधुमेह दिवस । विभिन्न कार्यक्रमको आयोजनागरी आज विश्वभर मधुमेह दिवस मनाईँदै छ ।

यसवर्षको मधुमेह दिवसको नारा मधुमेह र कल्याण (Diabetes and Well–being ) हो। यसले मुख्य रूपमा मधुमेह र जीवनको सम्पूर्ण कल्याण बीचको सम्बन्धमा ध्यान केन्द्रित गर्छ। मानिसहरूलाई मधुमेहसँग बस्न सिक्ने तर स्वस्थ र सन्तुलित जीवन जिउने उपायहरू तर्फ सचेत गराउने उद्देश्य राख्छ।

इन्टरनेसनल डायबेटिज फेडेरेसन र विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९१ देखि नोभेम्बर १४ का दिनलाई विश्व मधुमेह दिवसको रुपमा मनाउन थालिएको हो। सन् २००६ मा यो दिवसले आधिकारिक रुपमा संयुक्त राष्ट्र संघ अन्तर्गत स्थान पाएको थियो।

यो दिन मधुमेह उपचारका लागि प्रयोग गरिने इन्सुलिन बनाउन महत्वपूर्ण भूमिका खेलेका वैज्ञानिक फ्रेड्रिक व्यान्टिङको जन्मदिन पनि हो। फ्रेड्रिक ग्रान्टले चाल्र्स बेस्टसँग मिलेर सय वर्ष पहिले इन्सुलिनको खोज गरेका थिए। उनैको सम्झनामा हरेक वर्ष १४ नोभेम्बरमा विश्व मधुमेह दिवस मनाइन्छ।

रगतमा ग्लुकोजको मात्रा बढी हुँदै गएमा मधुमेह हुन्छ। शरीरमा चाहिने जति इन्सुलिन उत्पादन नहुनु र उत्पादन भएको इन्सुलिनले पनि शरीरमा प्रभावकारी रुपमा काम गर्न नसक्दा रगतमा ग्लुकोजको मात्रा बढी देखिने अवस्थालाई नै मधुमेह भनिन्छ।

अव्यवस्थित जीवनशैलीदेखि वंशाणुगतसम्मका कारणले मधुमेह हुनसक्ने चिकित्सक बताउँछन् । मधुमेह नियन्त्रणमा राख्न नसके मिर्गौला, मुटुलगायतका अङ्गलाई असर पार्न सक्छ । यो रोग लाग्न नदिन र लागिसकेपछि पनि सुरक्षित जीवन बिताउन नियमित व्यायाम, सन्तुलित आहार विहार र व्यवस्थित जीवनशैली अपनाउनुपर्ने चिकित्सकहरुको भनाई छ ।